पूर्वआईजीपी रमेशचन्द ठकुरीद्धारा सर्वोच्चमा आत्मसमर्पण

असार १९, काठमाडौं —सुडानको डार्फर मिसनमा भ्रष्टाचार भएको प्रकरणमा जेल सजाय सुनाइएका पूर्वआईजीपी रमेशचन्द ठकुरीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।
२०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित नौजनालाई जेल सजायको फैसला सुनाएको थियो। फैसलाले सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहर गरेको थियो। फैसलामा ठकुरीसहित पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतलाई जेल सजाय सुनाएको थियो।
सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।