गर्मीमा मुटुका बिरामीले ख्याल गर्नुपर्ने कुरा

असार १९, काठमाडौ —गर्मीको समयमा स्वास्थको ख्याल अन्य मौसमको तुलनामा अलि गर्नुपर्छ । अझ मुटुका बिरामीका लागि गर्मीको समय खतरनाक मानिन्छ । वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ । शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ । पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ ।

तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयघात) बढिरहेको मुटुरोग विशेषज्ञ बताउछन् । बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ । यदि शरीर केही कारणवश चिसो हुन सकेन भने मुटुलाई पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ ।
गर्मीमा मुटुका बिरामीले के गर्ने, के नगर्ने ?
–गर्मी मौसममा हृदयघातका घटना बढ्नुको कारण डिहाइड्रेसन हो। डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ । त्यसैले शरीर सुख्खा हुन नदिन सचेत रहनुपर्छ ।
–अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ ।
–दिनभरिमा पटक–पटक तरल पदार्थ पिउनुपर्छ । चिया, कफी, मदिरा सेवन नगर्नुहोस् ।
–साह्रै गर्मी भए नुहाउनुपर्छ ।
– घाम चर्केको बेला घर बाहिर निस्कनुहुँदैंन । निस्कनैपर्ने अवस्थामा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कने गर्नुहोस् ।
–मनोरन्जनका लागि घरबाहिर निस्कदा शपिङ सेन्टर, पुस्तकालय, फिल्म हलजस्ता वातानुकुलित शान्त स्थान रोजनुहोस् ।
–यदि घर वातानुकुलित छैन भने दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ । सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैंन ।

–घरबाट निस्कँदा मोबाइल साथमै राख्नुपर्छ ताकि कुनै असहज, अप्ठेरो महसुस हुँदा परिवारका सदस्य, आफन्त तथा साथीभाइलाई फोन गर्न सकियोस् ।