अस्ट्रेलियामा ओछ्यानमा सुतेर माछा हेर्न मिल्ने बन्यो होटल

असार १९, काठमाडौ — मानिसहरू अब कोरल रीफ (मुँगाको चट्टान)३६० डिग्री दृश्य होटलमा बसेर देख्न पाउने भएका छन् ।
अस्ट्रेलियाको प्रसिद्ध ग्रेट ब्यारियर रीफमा पानीमुनि होटल बनाइएको छ ।

सो होटलमा पर्यटकहरू आफ्नो बेडरूमबाट नै राति माछा हेर्न पाउँछन् । यसलाई मरिन पार्कको दक्षिणमा लेडी मुसाग्रेव आईल्यान्डको ठीक बाहिर बनाइएको छ ।

तीन तह रहेको यो होटल ३६ मिटरमा तैरिँदो छ । पहिलो तह पानीबाट तीन मिटर तल हुनेछ । त्यसमा २४ जना बस्न मिल्नेछ ।

प्रत्येक कोठाबाट मुँगाका चट्टान देखिनेछन् । अनि माथिका भागमा पौडी खेल्न सकिनेछ । पर्यटकहरूले डुंगाको सवारी पनि गर्न सक्नेछन् ।

पर्यटकले राति पनि रीफको आनन्द लिन पाउने भनेर क्वीन्सल्यान्डका पर्यटन राज्यमन्त्री केट जोनसले अल्ट्राभायलेट लाइटका साथ पानीभित्र अब्जर्भेटरी बनाइने छन् ।

होटल बनाउन क्वीन्सल्यान्ड सरकारले लगभग ८ करोड रुपैयाँ दिएको छ । होटलमा सोलर प्यानलबाट ऊर्जा उत्पन्न हुनेछ । होटलका सबै कुरा रिसाइकल गर्न सकिनेछ । यसको निर्माण अप्रिल २०२० सम्म सकिनेछ ।

यो होटल बनेपछि प्रत्येक वर्ष १५ करोड रुपैयाँको आम्दानी हुने अपेक्षा गरिएको छ । होटलमा दुई दिन, एक रात बिताउन लगभग ४४ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

एजेन्सी