सशस्त्र प्रहरीका पूर्व ४ आईजीपीले पाए विशेष अदालतको सफाइ

असार १६, काठमाडौँ — सशस्त्र प्रहरी बलका ४ जना पूर्व महानिरीक्षक (आईजीपी) सहित २२ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको सोमबारको इजलासले २०७२ मा दायर यो मुद्दामा सोमबार सबै प्रतिवादीलाई सफाई दिएको हो ।

सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार बस्नेतसहित २२ जना विरुद्ध अख्तियारले प्रतिवादीहरूले सामान खरिद, बिल भरपाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको थियो ।

सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्नेक्रममा २०५८ देखि २०७१ मा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको थियो ।