सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, राजनीतिक सफाइ जरुरी छ —सभामुख महरा

असार १४, काठमाडौं —सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन् । हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्य्विनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ ।’
देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै उनले भने,’अहिले देशमा माफियाहरु सक्रिय छन् , यस्ता माफियाले देशै हडप्न खोजेका छन् ।’

व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।