कबीर सिंह रिलिजको पाँचौ दिनमा सय करोड कलेक्सन

असार ११,
मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीद्दारा अभिनीत नयाँ फिल्म कबीर सिंहले रिलिजको पाँचौ दिनमा सय करोड क्लबमा प्रवेश गरेसँगै बलिवुड बक्स अफिसमा रेकर्ड बनाएका छन् ।

शुक्रबार रिलिज भएको कबीर सिंह पाचौ दिनमा १०४ करोड ९० लाख कलेक्सन गर्दै सय करोड क्लबमा प्रवेश गरेको छ ।

पहिलो दिनमै भारतीय बक्स अफिसमा २० करोड २१ लाख कलेक्सन गर्न सफल कबीर सिंहले दोस्रो दिन २२ करोड ७१ लाख, तेस्रो दिन २७ करोड ९१ लाख र चौथो दिन १७ करोड ५४ लाख कलेक्सन गरेको थियो ।

सय करोड क्लबमा प्रवेश गरेसँगै अभिनेता शहिद कपुरको क्यारियर कै सबै भन्दा धेरै कलेक्सन गर्ने सोलो फिल्म बनेको छ । यस अघि पद्मामावतले २ सय ४८ करोड कलेक्सन गरेको थियो ।

कबीर सिंह यस बर्ष रिलिज भएका फिल्म मध्ये भारतपछि छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । भारत रिलिजको चौथो दिन सय करोड क्लबमा पुगेको थियो भने कबीर सिंह पाँचौ दिन सय करोड क्लबमा पुगेको छ । त्यस्तै यस बर्ष रिलिज भएको केशरी सातौ दिन, गली ब्वाय अठौ दिन र टोटल धमाल नवौ दिन सय करोड क्लबमा प्रवेश गरेको थियो ।

दर्शकले अत्याधिक रुचाएको यो फिल्मलाई भारतीय सेन्सर बोर्डले ए सर्टि्फिकेट दिएको छ ।
फिल्ममा शहिद पागल प्रेमीको रुपमा प्रस्तुत भएका छन् ।