ललिता निवास प्रकरणः बयानका लागी सूचना प्रकाशित

असार ११, काठमाडौँ  –   ललिता निवासको सरकारी जग्गाको विवादमा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिने म्याद दिएको छ ।

अख्तियारले जारी गरेको सूचनामा नाती महर्जन एक नम्बरमा छन् । तर, अख्तियारले जारी गरेको सूचीमा यसअघि यो प्रकरणमा मुछिएका डा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम उल्लेख गरेको छैन ।

अख्तियारका अनुसार फोनमार्फत सम्पर्क नभएकाहरुको मात्रै सूचना निकालिएको हो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाएको छ ।