२०२८ सालदेखि बस्दै आएका १६ परिवारको टहरामाथि डोजर चलाएपछि विचल्लीमा

जेठ ३१, बुटवल — २०२८ सालदेखि बस्दै आएका १६ परिवारको घर टहरामाथि वुटवल उपमहानगरले डोजर चलाएको छ ।
सुरक्षाकर्मीको सहयोगमा उपमहानगरले डोजर चलाएपछि उनीहरु विचल्लीमा परेका छन् ।

बुटवलस्थित जामे मस्जिद अगाडि बुटवल(१ स्थित साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा बढी तत्कालीन श्री ३ बडामहारानीको जग्गामा वर्षौंदेखि बसिरहेका उनीहरुलाई उपमहानगरले जग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो ।

उनीहरुले उक्त जग्गामा आफूहरु वर्षौंदेखि बसोबास गरेकाले नहटाउन माग गर्दै उपमहानगरपालिकाविरुद्ध अदालतमा मुद्दासमेत हालेका थिए ।

मुद्दाको अन्तिम फैसला नहुँदै उपमहानगरले वस्तीमा डोजर लगाएर घरवारविहीन बनाएको छ ।