मिडिया काउन्सिल विधेयक विरुद्ध महासंघको मानवसाङ्लो प्रदर्शन

जेठ २६, काठमाडौं — मिडिया काउन्सिल विधेयकको विरोधमा मानवसाङ्लो प्रदर्शन गरिएको छ ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा काठमाडौं लगायत देशभरि नेपाल पत्रकार महासंघले विरोध स्वरुप मानवसाङ्लो प्रदर्शन गरेको हो ।

शनिबार दोस्रो चरणको कार्यक्रम अन्तर्गत काठमाडौंको बबरमहलदेखि माइतीघरसम्म उक्त प्रदर्शन गरेको हो । मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने भन्दै महासंघले जनाउँदै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

संसद्मा पेस भएको विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पत्रकार महासंघले जनाएको छ ।

एक महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको महासंघले बैठक बसी तत्कालै अर्को चरणको आन्दोलन घोषणा गर्ने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।