हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएलको दोस्रो क्वालिफायरमा

वैशाख २६, । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई दुई विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

१६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ थालेको दिल्लीले एक बल बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य भेटायो । पृथ्वी शाले ५६ रन बनाएपछि दिल्लीको पक्षमा जित हात परेको थियो ।

उनले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, दिल्लीलाई जिताउन रिषव पन्तको खेल पनि उत्कृष्ट रह्यो । उनले ४९ रन बनाए । २१ बलको सामना गरेका उनले ५ छक्का र दुई चौका प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले १७ रन बनाउँदा कोलिन मुनरोले १४ रन बनाएका थिए ।

हैदरावादका खलिल अहमद र राशिद खानले भने समान २–२ विकेट लिए । टस हारेर पहिले ब्याटिङमा गरेको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । हैदरावादका लागि मार्टिन गुप्टिलले ३६, मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सनले २८ रन बनाए ।

फाइनलका लागि दिल्ली दोस्रो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । चेन्नाई र दिल्लीको खेल भोली शुक्रबार हुदैछ । यी दुई टिमबीचको विजेताले फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछन् ।