वैशाख२२,रुपन्देही – रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अबदेखि जातीय छुवाछुतका घटना नहुने भएको छ । साथै घटना हुन नदिने प्रतिबद्धता जनाइएको छ ।
सोही गाउँपालिकाको फर्सा्टिकरका राम बहादुर विश्वकर्माको छोरी आरती विकको विहेमा निम्तो मान्न गएका गैरदलित समुदायले भोज नखाएपछि फर्किएको घटना सार्वजनिक भएपछि गाउँपालिकाको अगुवाईमा गरिएको कार्यक्रममा छुवाछुत व्यवहारमै अन्त्य गर्ने प्रतिबद्धता जनाइएको हो।
घटनामा गाउँपालिकाको न्यायीक समिति र जातीय छुवाछुत अध्ययन तथा निगरानी समितिको अगुवाईमा छलफल गरि माफी माग्दै सामूहिक सहभोज गरेर मिलापत्र गरि घटना साम्य पारिएको थियो ।
आईतबार शुद्धोधन गाउँपालिका र दलित वर्ग उत्थान गाउँ समन्वय समितिको आयोजनामा सामाजिक सदभाव तथा आपसी मेलमिलापका लागि सामूहिक भोज एंव अन्तरक्रिया तथा कानुनी सचेतना कार्यक्रम गरि कानुनी रुपमा अन्त्य भएको छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड दिइएको हो ।
