सेनाको आक्रमणमा परी १४ महिने शिशुसहित चार जनाको मृत्यु

वैशाख२२, काठमाडौं – प्यालेस्टाइन क्षेत्रमा इजरायली सेनाको आक्रमणमा परी १४ महिने शिशुसहित चार जनाको मृत्यु भएको छ । चरमपन्थी समूहले २ सयभन्दा बढी रकेटबाट इजरायली क्षेत्रमा आक्रमण गरेका कारण जवाफी कारबाही सुरु गरेको सेनाले बताएको छ । सेनाका अनुसार चरमपन्थी समूहकोे आक्रमणमा परी तीन जना घाइते भएका छन् ।

इजरायलको गजापट्टी सीमावर्ती क्षेत्रमा शनिबार भएको रकेट आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको छ । दक्षिण इजरायलमा रकेट आक्रमण हुन थालेपछि खतराको जनाउ दिदै साइरन बजाइएपछि मानिसहरु लुक्नका लागि सुरक्षित ठाउँतिर भागेका थिए ।

इजरायलमा अप्रिलमा निर्वाचनताका दुवैतर्फबाट रोकिको युद्ध अहिले फेरि सुरु भएको हो । बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघले संघर्षविराम लम्बाउने प्रयास गर्दागर्दै तनाव बढेको हो ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)का अनुसार प्रतिरक्षा प्रणालीबाट केही रकेटहरुलाई आकाशमै निस्तेज पारिएको थियो ।
सीमा क्षेत्रमा प्यालेस्टाइनको एक हतियारधारीले इजरायली दुई सैनिकलाई गोली हानी घाइते बनाइदिएपछि जवाफी कारवाहीमा इजरायलले हवाई हमला गरेको थियो । यसमा हमासका दुई लडाकुको मृत्यु भएको छ । अन्य दुई जना प्यालेसटाइनीको पनि मृत्यु भयो । प्यालेस्टाइनीले मृतकका शनिबार अन्तिम संस्कार गरे । त्यसपछि रकेट हमला पनि भयो ।

हमासका प्रवक्ता अब्देल लतीफ अल कनोआले शनिबार एक विज्ञप्ति जारी गर्दै कब्जा गर्नेहरुबाट हुने अपराधको यस क्षेत्रका जनताले जवाफ दिइरहने र आफ्ना मानिसको रगत बगाउन निदिने बताएको छ ।
गजा क्षेत्रमा करिब २० लाख प्यालेस्टाइनी रहेका छन् । इजरायलले नाकाबन्दी गरेका कारण यहाँका जनता आर्थिक समस्या भोग्दै आएका छन् । विदेशी सहयोग पनि रोकिएको छ ।