माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको प्रशारण लाइनको परीक्षण सुरु

वैशाख२२, काठमाडौं –माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको प्रशारण लाइनको परीक्षण प्रशारण आइतबारदेखि सुरु हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रशारण लाइनमा परीक्षण प्रशारण गर्ने बताएको हो ।

२२० केभी कूल क्षमता भएको प्रशारण लाइनको परीक्षण हुने भएकाले प्रशारण लाइनको टावर वरपरको दायाँ–बायाँ १५।१५ मिटर क्षेत्रभित्र कुनै विद्युतीय दुर्घटनाको जोखिममा हुने भएकाले सो स्थानमा प्रवेश रोक लगाएको प्राधिकरणले जनाएको छ ।

उक्त आयोजना चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो ।

‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परेको यस आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको छ ।