ड्रागन फ्लाई (Dragonfly)

यसलाई नचिन्नेहरु कोहि होलान ? सायदै नहोलान्।

टाउको, छाती र पेट छुट्टिएको साथै पंखेटाहरु पारदर्शी, आँखाहरु ठूलाठूला र लामो शरीरमा छ वटा खुट्टा भएपनि हिड्न नसक्ने यो प्रजातिको किरा आजकल भने खासै देखिदैन । मौसम परिवर्तन र सहरीकरणको प्रभावका कारणले लोप हुने खतरा रहेको छ  । ताल, तलैया, पोखरीको पानी माथी नाचिरहेका हुने भएकाले यसलाई पानी चेपुवा र कतै पानी टिपुवा पनि भनेर चिनिन्छ । ठाउँ अनुसार यसको नाम पनि फरकफरक भएको पाइन्छ जस्तै: खेतारी, हेलिकप्टर, गुरही, फिरफिरे, झ्यालिन्चा इत्यादि । थारु समुदायमा त यो किराको नाममा नै “गुरही बालपर्ब” मनाउने गर्दछन र यी किराहरुको पुजा गर्नाले रोग कम लाग्ने यो समुदायमा बिश्वास रहेको पाइन्छ । अगाडी र पछाडी दुवै दिशामा ४० – ५० किलोमिटर प्रति घण्टा सम्म उड्न सक्ने यी प्रजातिका किराहरु संसार भरि गर्मी वातावरण र पानी भएको क्षेत्रमा रहेका हुन्छन् । यी किराहरु मानिसलाई कुनै नोक्सानी गरेको भेटिएको छैन तर लामखुट्टे, झिंगा लगायत बिभिन्न शुक्ष्म किरा र साना भुसुनाहरु खाने भएकोले मलेरिया, डेंगु जस्ता रोगहरुको संक्रमण बाट बचाउने र रोकथाममा पनि सहयोग पुर्याउने गरेको पाइन्छ ।