‘विष्णु पौडेल फर्जी धन्दामा संलग्न भएको होइन ,जग्गा दलालबाट ठगीमा पर्नुभो’– मन्त्री बाँस्कोटा

चैत २८, काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल जग्गा खरिदमा ठगिएको बताएका छन् ।

प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै ललिता निवासको जग्गामा समस्या देखिएकोले सत्यतथ्य छानविन गर्न सरकारले समिति बनाएको बताएको दाबी गरे ।

ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको पाइएको छ । ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नुभएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ । उहाँ त ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन ।’

सरकारी जग्गा किनेको भए कसैलाई पनि नछाड्ने उनले बताए । ‘म संलग्न छैन भनेर महासचिवले वक्तव्य जारी गरिसक्नुभएको छ। तर दोषी देखिए कोही पनि उम्कदैन । सत्ता र प्रतिपक्षी होइन, दोषी देखिए सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउँछ,’ उनले भने।