३३ प्रतिशत महिला क्याम्पस प्रमुख माग गर्दै महिला शिक्षक आन्दोलनमा

 

चैत १, काठमाडौ — त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै त्रिविका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

पद्मकन्या कलेजबाट आन्दोलन घोषणा गरेका उनीहरुले देशभरका ६१ मध्ये २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । पटक पटक महिला प्रमुखको माग गर्दै आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले त्रिविका पदाधिकारीले आफुहरुको मागको सुनुवाई नगरेको आरोप लगाउदै ५ दिन अघि त्रिवि उपकुलपति प्राडा तीर्थराज खनिया र हिजो बिहीबारबाट रेक्टर प्राडा सुधा त्रिपाठी र रजिष्टार प्रा डिल्लीराम उप्रेतीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

 

महिला शिक्षकको आन्दोलनको कारण हिजो बिहीबार पदमकन्या मा तोकिएको परीक्षा केन्द्र समेत परिवर्तन गरिएको छ । त्रिविले पद्मकन्या क्याम्पसमा महिला प्रमुख नबनाएको झोकमा आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले ३३ प्रतिशत आंगिक क्याम्पसमा महिला प्रमुख नियुक्ती नगरे विद्यार्थी सहित आमरण अनुसन बस्ने चेतावनी दिएका छन् ।