बलात्कारका घटना बढ्दो, दैनिक ६ उजुरी

फागुन २८, काठमाडौ — महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् ।

गत साउनदेखि पुस मसान्तसम्म एक हजार एक सय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय ८० मुद्दा दर्ता भएका थिए । जसअनुसार अघिल्लो वर्षको तुलनामा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएका छन् । बलात्कारका घटनामा उजुरी दिने प्रवृत्ति बढेकाले संख्या थपिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार साउनमा २०५, भदौमा १९९, असोजमा १९८, कात्तिकमा १८७, मंसिरमा १५३ र पुसमा १६६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएसँगै महिलामाथि हुने हिंसाविरुद्ध सरकार तथा अन्य निकायबाट अभियान चलिरहेको छ । तर, त्यसयता घटना झन्–झन् बढेका छन् । साभार —नयाँ प्रत्रिका