‘चौधरी माथि अन्याय भयो’ —राजेन्द्र महतो

फागुन २२, काठमाडौ —राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले पार्टीका सांसद रेशमलाल चौंधरीलाई अन्याय भएको बताएका छन् । उनले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी समेत दिएका छन् ।
‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यस विरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गरे ।

नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गरे ।

जिल्ला अदालत कैलालीले बुधबार हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो ।