अमेरिकामा आपतकाल घोषणा, ट्रम्पले पदिय लापरवाही गरेको ज्युडिसिएरी कमिटीको ठहर

फागुन४, काठमाडौं – अमेरिकामा आपतकाल घोषणा गरिएको छ । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन संसदको बजेट स्वीकृत नभएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेका हुन् ।

शुक्रबार ह्वाइटहाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा वढेको नशालु पदार्थ, मानव तस्करी र अपराधको खतरा रोक्न सिमानामा पर्खाल लगाउन जरुरी बताए ।

राष्ट्रपति ट्रम्पको यो आपतकाल घोषणाले संवैधानिक जिम्मेवारीप्रति पदिय लापरवाही देखिएको भन्दै आलोचना सहित ज्युडिसिएरी कमिटीले ठहर गरेको बीबीसीले जनाएको छ । प्रजातान्त्रिक सांसदहरुले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको टिप्पणी सहित यसको विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

संकटकाल घोषणापछि सरकारी ढुकुटीबाट आठ बिलियन डलरसम्म रकम निकासा गरी पर्खाल लगाउन ट्रम्पले बताएका छन् । ट्रम्पले राष्ट्रपति चुनावका वेलादेखी मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल लगाउने विषयलाई प्रमुख एजेण्डा बनाएका थिए । राष्ट्रपति भएपछि उनले पर्खाल लगाउनका लागि ५.६ अर्ब डलरको बजेट माग गरेका थिए ।

तर गत डिसेम्बरमा संसदले अस्वीकार गरेको थियो । त्यसपछि २२ डिसेम्बरदेखी अमेरिकामा कर्मचारीको कामकारवाहीमाथी रोक लगाएका थिए । यसका कारण करिब आठ लाख कर्मचारीहरुले तलब पाएका छैनन् ।