‘सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न ’ — सञ्चार मन्त्री

फागुन, ३ काठमाडौ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताएका छन् ।
बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरो,कदापि मोलमोलाइ र छुट हुन्न ।’

उनले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो भनेर गलत प्रचार गर्नु दुःखद रहेको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीसमेतलाई भ्रष्टाचार आरोप नछाडिएको र अन्यका हकमा पनि शङ्का गर्नु नपर्ने स्पष्ट पारे ।
मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारको उपलब्धि ‘शून्य’ भन्नेको हेर्ने, देख्ने, बुझ्ने र व्यक्त गर्नेमा नै शून्यता रहेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाई, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहालले आफ्नो अवधिमा जनतासँग गरेका वाचा पूरा गर्न जनताको मालिक भएर हैन, सेवक भएर काम गर्ने स्पष्ट पारे ।

रासस