संघीयताले खर्च बढ्यो भन्नु, संघीता विरोधीको भ्रम हो : मुख्यमन्त्री शंकर पोखरेल

फागुन ३, बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले खर्च वढ्यो भन्ने टिप्पणी आईरदा यो तथ्य गलत भएको दाबी गरेका छन् ।

प्रदेश ५ को स्थापना दिवसको अवसरमा बोल्दै आज मुख्यमन्त्री पोखरेलले शून्य संरचनाबाट काम शुरु गर्नुपरेकाले विकासको गति लिन नसकेको भन्दै संघीयताका कारण जनताले सेवा लिन गर्नुपर्ने खर्च घटेको दावी गरेका हुन् ।

मुख्य मन्त्री पोखरेलले संघीयता वा प्रदेश सरकार देख्न नचाहनेले संघीयताले खर्च बढाएको भनेर भ्रम छरेको बताए । उनले विगतमा जिल्ला सदरमुकामबाट राजधानी काठमाडौं धाउनुपर्दा जनतालाई लाग्ने सबै खर्च घटेकोले यो कुरा वुझ्नुपर्ने जानकारी गराए ।

‘संघीयताको महत्वपूर्ण आधार प्रदेश सरकार हो भन्ने स्थापित भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले, प्रदेशको विकास र समृद्धिको आधार कृषि भएकाले भूमिहीनलाई करार खेती, ५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमल गायतका नौला कार्यक्रम कार्यान्वयनमा आएको पनि बताए ।

प्रदेशको दीर्घकालीन समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले अब लुम्बिनीको पर्यटन प्रवर्द्धनको जिम्मेवारी संघबाट प्रदेश सरकारले पाउनुपर्ने बताए ।