जनताको झण्डै ७ खर्ब लगानीमा १९ वटा जलविद्युत आयोजना सुरु हुने

फागुन ३, काठमाडौं —झण्डै ७ खर्ब बरारको जनताको लगानीमा १९ वटा जलविद्युत आयोजना सञ्चालन हुने भएको छ । सरकारले सरकार र जनताको संयुक्त लगानीमा ६ खर्ब ९५ अर्ब रुपैयाँ खर्च गरी १९ वटा आयोजना सञ्चालन गर्न लागेको हो ।

बिहीबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी’ भन्ने मूल उद्देश्य सहित सुरु गर्न लागिएको उक्त आयोजनाको सेयर आगामी चैत ७ गतेबाट खुल्ने भएको छ ।

उत्त आयोजनामा १० हजारदेखि १० लाखसम्म जनताले सेयर लगानी गर्न सक्ने छन् । सरकारले अबको ५ वर्षभित्र  १९ वटा आयोजनाबाट तीन हजार चार सय ७९ मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि बढाएको छ ।

सरकारले विसं २०७५ देखि २०८५ को दशकलाई ऊर्जादशक घोषणा गरेको छ । सरकारले ३ वर्षमा तीन हजार मेगावाट, ५ वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

४९ प्रतिशत जनताको लगानी रहने यस आयोजनामा संस्थापक ५१ प्रतिशत सेयर लगानी गर्न पाउनेछन् । चार खर्ब ८७ अर्ब ६ करोड ऋण रकम आवश्यक पर्ने उत्त आयोजनामा सरकारले दुई खर्ब आठ करोड लगानी गर्न भएको छ ।