(डीपीएल) क्रिकेट अन्तर्गत तेस्रो संस्करणमा धनगढी स्टार्सको लगातार तेस्रो हार

फागुन १, काठमाडौं — धनगढी स्टार्सले लगातार तेस्रो हार खानुपरेको छ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत तेस्रो संस्करणको प्रतियोगितामा धनगढी स्टार्सलाई लगातार तेस्रो हार खानुपरेको हो । लगातारको तेस्रो हारसँगै प्ले अफमा पुग्ने सम्भावना लगभग टुङ्गिएको छ ।

१०४ रनको सामान्य लक्ष्यलाई पछ्याउदै गरेको धनगढी विराटनगर किंग्ससँग २१ रनले हारेको हो । धनगढी १९ ओभरको समाप्तिमा ८२ रन हुदा अलआउट हुन पुग्यो ।

सन्दीप रजालीले ३४ र राजु रिजालले १५ रन बनाए । धनगढीका अनुभवि ब्याट्सम्यान रोहन मुस्तफा ६, सुनिल धमला एक, अमित श्रेष्ठ सात, पवन सर्राफ चार, अमिर हायत, कप्तान सोमपाल कामी र सौरभ खनाल समान ४–४ रनमा आउट भएपछि विराटगरले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

धनगढीसँग विराटनगरका लागि कप्तान करण केसीले चार विकेट लिदै २४ रन खर्चिएका थिए । त्यस्तै, अविनाश यादवले पनि चार ओभरमा १० रन खर्चेर चार विकेट लिएका थिए ।

विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङमा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो । विराटनगरका लागि अविनाश यादवको २७ रन, कप्तान करण केसीको २१ रन आउँदा आशिफ सेख १२ र साम्सद सेख ११ रनले आउट हुन पुगे ।

त्यसैगरी बलिङतर्फ धनगढी स्टार्सका कप्तान सोमपाल कामीले तीन ओभर बलिङ गर्दै आठ रन खर्चेर तीन विकेट लिएका थिए । विपिन खत्रीले पनि चार ओभर बलिङ गर्दै १९ रन खर्चेर तीन विकेट लिएका थिए ।