बेरोजगार’ युवाले अब १०० दिन बराबरको रोजगार पाउने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

फागुन १, काठमाडौं — बेरोजगार युवाहरुले कमसेकम अब १०० दिन बराबरको रोजगारी पाउने भएका छन् ।

आजै घोषणा गरिएको सरकारको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’का कारण बेरोजगार युवाहरुले वर्षमा न्यूनत्तम १०० दिनको रोजगारी पाउने भएका हुन् ।

सरकारले अब बेरोजगार नागरिकलाई न्युनतम् सय दिन रोजगारी दिनेछ । सरकारले रोजगारी दिन नसकेको खण्डमा बेरोजगार युवाहरुले निर्वाह भत्ता पाउनेछन् । तर निर्वाह भत्ता पाउने मापदण्ड भने निकै कडा बनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गर्दै ‘नेपालीले यही दिन देख्न खोजेको दाबी गरे ।

अहिलेसम्म देशभरी भएका बेरोजगार युवाहरुको तथ्यांक सरकारसँग नभएको र बजारको माग अनुसारको जनशक्ति आपूर्ति पनि भएको नभएको जानकारी नभएकाले पहिलो काम बेरोजगारहरूको तथ्यांक संकलन गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी ‘रोजगारीको हकसम्बन्धी ऐन ०७५’ र त्यसको नियमावली अनुसार ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५३ तहका लागि २ हजार २५९ जना रोजगार संयोजकका लागि सर्ट लिष्ट तयार पनि गरेको छ ।

चैत्र १ गते देखि बेरोजगार व्यक्तिको सूची संकलन तथा दर्ता सुरु हुनेछ । बेरोजगार कार्यक्रममा स्वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिक समावेश हुनेछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कृषि, पर्यटन, सडक यातायात, उर्जा, वन तथा वातावरणदेखि राष्ट्रिय गौरवका आयोजना, उद्योग लगायतका १३ वटा क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने सरकारले विश्वास लिएको छ ।

प्रधानमनत्रीको रोजगार सेवा केन्द्रले असार १५ सम्म निर्वाह भत्ता पाउने योग्य व्यत्तिको पहिचान गर्नेछ । उनीहरुलाई एकमुष्ट २५ हजार ८५० रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउनेछ ।