तामाङ समुदायको विशेष मौलिक पर्ब, सोनाम ल्होछारमा प्रधानमन्त्रीको शुभकामना

माघ २२, काठमाडौं — काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।

साँस्कृतिक पर्व र भेषभुषाहरुले नेपालको समृद्धिको अभियानलाई टेवा पुग्ने भन्दै आज मंगलबार एक शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले यस अवसरमा शुभकामना दिएका हुन् । शुभकामना सन्देश मार्फत सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान पुरर्याएको प्रधानमन्त्री ओलीको धारणा छ ।

‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेको भन्दै प्रधानमन्त्री ओलीले यसता विविधताले नेपालीहरुलाई एक मालमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताए ।

समृद्धिको यात्रामा सबै जातजातीको सकारात्मक सहयोगको अपेक्षा गर्दै उनले विकास र समृद्धिको महानयात्रा तय गर्न सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महान लक्ष्य राखेर अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले यस सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुको सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

यसैबीच, सभामुख कृष्णबहादुर महराले पनि सोनाम ल्होछारको अवसरमा सम्पूर्ण तामाङ समुदायमा शुभकामना दिएका छन् ।