तामाङ समुदायको विशेष मौलिक पर्ब, २८५५ औं सोनाम ल्होछार, नयाँ वर्ष

माघ २२, काठमाडौं — आज तामाङ समुदायको नयाँ बर्ष । यो सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यस सोनाम ल्होछार पर्वको अवसरमा प्रदेश ३ को सरकारले सार्वजनिक विदा दिएको छ ।

यो २८५५ औं सोनाम ल्होछार हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । हिजोबाट नै ल्होछार सुरु भए पनि आजलाई मुख्य दिनको रुपमा मानिन्छ । विविध कार्यक्रम गरी सामुहिक रुपमा ल्होछार मनाउने गरिन्छ ।

चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आजदेखि कुकुर वर्षलाई विदाई गरी सुँगुर वर्षको रुपमा स्वागत गर्छन् । ल्हो भनेको वर्ष फेरिने प्रचलनमा १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्र प्रणाली अनुसार गणना गरिने प्राचिन व्यवस्था हो ।

सोनाम ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजना गरिने विशेष कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित हुनेछन् । बिहान ११ बजे शान्तिबाटिका रत्नपार्कबाट झाँकीसहितको ¥याली निकाली दिउँसो १ बजे टुँडिखेलको विशेष सभामा पुग्ने छ ।

सोनाम ल्होछारको यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र बिभिन्न राजनैतिक दलका नेताहरुले एक सन्देश जारी गरी शुभकामना दिएका छन् ।

नेपालका तामाङसहित ह्योल्मो, थकाली लागयतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा पनि आफ्नै नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।