२० हजार अमेरिकी डलर सहित ईजरायली नागरिक विमानस्थलमा पक्राउ

माघ १८, काठमाडौं –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २०हजार डलरसहित विदेशी पक्राउ परेका छन् । विमानस्थलको सुरक्षा कार्यालयले १९ हजार ७ सय अमेरिकी डलरसहित एक जना इजरायली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राहदानी नं. २१७४०५३८ बहाक इजरायली नागरिक ३१ वर्षीय सही वेन मोहा रहेका छन् । थाइ लायन एयरको उडान नं. एसएल २२१ मार्फत काठमाडौंबाट थाइल्याण्ड जान लागेका मोहाको कालो रंगको कम्मरमा भिर्ने मनी पर्समा डलर भेटिएको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए ।

उक्त डलर बिहीबारको नेपाल राष्ट्र वैंकको खरिद दरअनुसार नेपाली रुपैयाँ २२ लाख ३५ हजार ९ सय ५० बराबर रकम भएको उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी गराए ।

चेकजाँच गर्ने क्रममा एक्स रे मेसिनमार्फत अवैध डलर भेटिएको थियो । पक्राउ परेका इजरायली नागरिकमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको छ ।