भारतका चर्चित नागरिक अगुवा अन्ना हजारे फेरी अनसन बस्दै

माघ १६, काठमाडौं । भारतका चर्चित नागरिक अगुवा अन्ना हजारेले फेरि अनसन शुरु गर्ने भएका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै हजारेले बुधबार आफ्नै गाउँमा अनसन सुरु गर्न लागेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक(पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेको भन्दै भष्टाचार विरोधी नागरिक अगुवा हजारेले आन्दोलन गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

महाराष्ट्रको अहमदनगर, रालेगन सिद्धीमा अनसन बस्न लागेका हजारेले केही दिनअघि लोकपाल र लोकायुक्त नियुक्तको माग गर्दै मोदीलाई पत्रसमेत लेखेका थिए ।

केन्द्र सरकारले जनतालाई पटक पटक धोका दिएको भन्दै अनसन सुरु गरेको तर अनसन कुनै पार्टी वा व्यक्तिविरुद्ध नरहेको हजारेले उल्लेख गरेका छन् ।

पूर्वसैनिक समेत रहेका हजारेले १६ अगस्त २०११ मा लोकपाल विधेयक पारित गराउन माग गर्दै आमरण अनसन बसेका थिए ।