सैनामैना नगरपालिकाका मेयरविरुद्ध सर्वाेच्चमा रिट

माघ११, बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकाका मेयरविरुद्ध गैरकानुनी रुपमा कर उठाएको भन्दै सर्वाेच्चमा रिट परेको छ ।

प्रदेश सरकारको प्राकृतिक स्रोत अन्तर्गत नदी जन्य पदार्थ व्यवस्थापन कार्यविधी विपरीत नगरपालिकाले प्रति टिप्पर ५ सय ६५ रुपैयाँ पटके कर लिएको दावी गर्दै भुवनेश्वरी कन्स्ट्रक्सनका सञ्चालक श्यामनारायण अधिकारीले सर्वोच्चमा रिट हालेका हुन् ।

रिटमाथी पुस ३० गते सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले पटके सवारी कर नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रदेश ५ सरकारको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधी विपरीत भएको ठहर गर्दै कर नउठाउन नगरपालिकालाई परमादेश जारी गरेको थियो ।

तर नगरपालिकाले अदालतको आदेशको अवज्ञा गर्दै ठेकेदारले पुनः पटके सवारी कर असुल्न नछाडेकाले पुन अदालतको आदेश पालनाको माग गर्दै नगरपालिकाका मेयर चित्रबहादुर कार्की र कर उठाउने ठेकेदार कृष्ण पोखरेलविरुद्ध सर्वोच्चमा निवेदन दिएका हुन् ।

सैनामैना नगरपालिकाको बाँसगढी– सूर्यपुरा– कञ्चन पूल, बुद्धनगर–किशुली कृषि सडक, बाँसगढी भित्रको कालोपत्रे सडक, बुद्धनगर–मलमला लगायत नगरका सडकहरुमा गरी करिब सय वटा टिप्पर दिनको तीन–चार पटक ओहोर दोहोर गर्दा दैनिक २ लाख रुपैयाँसम्म कर असुली हुने गर्छ ।