संघीय संरचनामा प्रभावकारी प्रशासन

दामोदर रेग्मी

प्रजातान्त्रिक शासन प्रणाली जनमुखी शासन प्रणाली हो । संघीय शासन प्रणाली उच्चतम प्रजातान्त्रिक शासन प्रणाली हो । यस प्रणालीमा जनतासंग सरकार संग छिटो, छरितो र सहजतापूर्वक अन्तरक्रिया गर्न, आफ्ना गुनासो राख्न, सेवा लिन र शासन प्रणालीमा सहभागी हुने अधिकार रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरु र सार्वजनिक सेवा प्रदायक हरु जनताको निकटतम दूरी मा रहनु पर्दछ अनि मात्र त्यो सरकार प्रभावकारी हुन्छ भन्ने परिपूरणको सिध्दान्त को वास्तविक प्रतिविम्व संघीय शासन प्रणाली हो भन्ने गरिन्छ । यस अर्थमा संघीय शासन प्रणली अन्तरगतको निजामती प्रशासन अझै बढी प्रभावकारी, पारदर्शी, परिणाममुखी हुनु आवश्यक हुन्छ ।

संघीय स्वरुपमा निजामती प्रशासनको भूमिका सेवा प्रवाहको दृष्टिले जति महत्वपूर्ण छ तटस्थता र निश्पक्षताको दृष्टिले अझै चुनौतीपूर्ण छ । एकात्मक प्रकृतिको प्रजातान्त्रिक शासन प्रणालीमा एउटा वा केही राजनीतिक दल सरकारमा रहने र सरकार वाहिर अन्य दल तथा सरकारमा प्रतिनिधित्व गर्ने दललाई मत नदिएका मतदताहरु रहन्छन। यस परिप्रेक्ष्यमा निजामती प्रशासनको भूमिका दलगत प्रभावमा नआई तटस्थ र प्रतिबध्द भै सेवा प्रवाह गर्नु हो । संघीय शासन प्रणालीमा यो समस्या अझ घनीभूत रुपमा देखिन सक्छ । यसमा केन्द्रीय सरकार कुनै एक दलको, प्रादेशिक सरकार दोश्रो दलको र स्थानीय सरकार तेश्रो दलको हुदा निजामती कर्मचारीले हरेक तहमा राजनैतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबध्दता, कार्य सम्पादनमा प्रभावकारिता र आफ्नो विशिष्टता र दक्षताको कुशल प्रदर्शन गर्नु पर्ने हुन्छ । यस सन्र्दमा निजामती प्रशासनको दायित्व तटस्थता सहितको प्रतिबध्द दक्षताको अवधारणाको प्रत्याभूति गर्नु हो ।

प्रशासकहरु योग्यता प्रणालीका उपज भएकाले आफ्नो कार्यलाई विधिको आवरणवाट सुरक्षित राखि सेवा प्रवाहमा जन प्रशंसा प्राप्त गर्न सक्ने पोख्त योध्दा बन्न सक्नु पर्दछ । विषगत विज्ञता र स्थायी सरकारको हैसियतले प्रशासनयन्त्रले राजनीति प्रति तटस्थता देखाउदै सेवा प्रवाह र सरकारी नीति कार्यान्वयनमा मा सकारात्मक योगदान को निम्ति सदा सर्वदा तत्पर र प्रतिबध्द रहनु नै वास्तविक रुपमा तटस्थता सहितको प्रतिबध्द दक्षता हो ।

संघीय शासकीय स्वरुपका तीनै तहमा निजामती प्रशासनको भूमिका सेवा प्रवाहको दृष्टिले जति महत्वपूर्ण छ तटस्थता र निश्पक्षताको दृष्टिले अझै चुनौतीपूर्ण छ यस सन्दर्भमा यो चुनौतीलाई अवसरमा परिवर्तन गर्न निजामती कर्मचारीले हरेक तहमा राजनैतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबध्दता, कार्य सम्पादनमा प्रभावकारिता र आफ्नो विशिष्टता र दक्षताको कुशल प्रदर्शन गर्दै सरकार जनता वीचको असल र प्रभावकारी सम्बन्ध सेतुको रुपमा आफूलाई प्रखर भूमिकामा प्रस्तुत गर्न सक्नु पर्दछ यो नै नेपालको संघीय शासन प्रणालीको सामयिक आवश्यकता हो ।

प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता , प्रतिबध्दता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्दछ । प्रशासनयन्त्रको दायित्व भनेको सरकारी सेवालाई सरल सहज झन्झटमुक्त र प्रभावकारी बनाउनु हो । जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो जसको मूल ध्येय कानूनले निर्धारित गरेका प्रक्रियालाई पूर्णरुपमा परिपालना गर्दै सेवाग्राही संगको सम्बन्धलाई स्वच्छता, निष्पक्षता, इमान्दारिता , प्रतिबध्दता र तटस्थताकोे मूलमन्त्र व्दारा पेशागत दक्षता, व्यवसायिकता र विशिष्टताका आधारमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो । यसको साथसाथै सरकारी नीति र कार्यक्रम प्रति अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ ईच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बन सहितको प्रतिबध्दता अर्को आवश्यकीय आयाम हो । संघीय शासन प्रणाली उच्चतम प्रजातान्त्रिक परिपाटी अगाल्न सकिने प्रणाली हो । संघीय शासन प्रणाली अन्तरगतको निजामती प्रशासन अझै बढी प्रभावकारी, पारदर्शी , परिणाममुखी हुनु आवश्यक हुन्छ ।

जनप्रतिनिधि मार्फत प्राप्त जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसै अर्थमा निजामती प्रशासनले सरकारको नेतृत्व गर्ने वा नगर्ने दल विशेषको राजनैतिक आस्था वाट प्रभावित नभै संविधान, कानून,नीतिको परिवेश भित्र रही कार्यकारी निकायको रुपमा रहेको सरकारको सच्चा प्रतिनिधिका रुपमा रही प्राप्त जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न दत्तचित्त रहनु पर्दछ । यदि प्रशासनयन्त्र प्रभावकारी भयो, सेवा प्रवाहमा चुस्त दुरुस्त रह्यो, सरकारी नीति नियमको अन्तरवस्तु प्रति प्रतिबध्द र त्यसको परिपालनामा तटस्थ रही प्रतिबध्दतापूर्वक कार्यान्वयन गर्ने तत्परता देखायो भने जनअभिमतको सच्चा कदर भएको हुन्छ । यसले गर्दा जनता प्रति सरकारको विश्वसनीयता अभिवृध्दि हुने र सरकारको दिगोपना रहने गर्दछ । यसैले कुनै पनि देशको सरकार त्यहांको प्रशासनयन्त्र भन्दा राम्रो हुन सक्दैन भन्ने गरिएको छ ।

प्रजातन्त्रमा सरकार कुनै राजनैतिक दल विशेषको हुने भएकोले सामन्यतया उसले आफु अनुकुलको प्रशासनयन्त्रको अपेक्षा राख्नु स्वभाविकै हो तर प्रशासनयन्त्र प्रतिस्पर्धात्मक छनौट प्रणालीबाट आएका हुन्छन् उनीहरुको पेशागत मर्यादा र आचरण , उत्तरदायित्व एउटा निश्चित कानूनी आधारशीलावाट निर्देशित भएको हुन्छ यसर्थ उनीहरुले चुनाव प्रणाली बाट आएका पदाधिकारी को आदेशलाई स्वेच्छा वा कुनै वादवाट प्रेरित भएर काम गर्न सक्दैनन् । प्रशासनयन्त्रको दायित्व भनेको सरकारले ल्याउने नीति निर्माणमा असल पृष्ठपोषक, व्यवहारकुशल कानूनी आधारशीला प्रदान गर्नमा सहयोगी, नीति कार्यान्वयनका लागि अनुकुल संस्थागत संरचना तयार गर्ने, नीतिको सकारात्मक वकालतकर्ता र सरल सहज झन्झटमुक्त तरीकावाट सेवा प्रवाहलाई प्रभावकारी बनाउनु हो ।