छोरी जन्माए बैंक खाता खोली, पाँच हजार जम्मा गरिदिने

कात्तिक २६ ,चितवन  —  इच्छाकामना गाउँपालिकाले छोरी जन्मिएको खण्डमा बैंक खाता खोलि पाँच हजार रुपैया जम्मा गरिदिने भएको छ ।

गाउँपालिका भित्र स्वास्थ्य संस्थामा छोरी जन्मिएमा गाउँपालिकाले एक जना बालिकाको नाममा खाता खोली पाँच हजार रुपैया जम्मा गरीदिने व्यवस्था गरेको हो । त्यसमा अभिभावकले पनि कम्तिमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ।

गर्भमा छोरी भएको थाहाभएपछि भ्रुण हत्या गर्ने क्रम बढेकाले यसको अन्त्यका लागि यो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।अभिभावकको आर्थिक अवस्था कमजोर भएमा दाता खोजेर भएपनि रकम जम्मा गराउने व्यवस्था गरिदिने गाउँपालिकाले प्रावधान ल्याएको छ ।

गाउँपालिका प्रमुख गीता गुरुङले गाउँपालिका भित्र बच्चा जन्माउने चार वटा स्वास्थ्य संस्थामा जन्मिएका छोरीका नाममा खाता खोलिदिने व्यवस्था सुरु गरेको बताईन् । उक्त गाउँपालिकाको चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम सुरु गरेको उनको भनाई छ ।

इच्छाकामना गाउँपालिकको वडा नं १ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेका छन् ।

गाउँपालिकामा रहेको २५ हजार १२ जम्मा जनसंख्यामा १३ हजारभन्दा बढी महिला रहेका छन् । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन अनुरोध गरेको पनि गाउँपाकिला अध्यक्ष गुरुङले बताइन् ।