दुई वर्षभित्र पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणको दाबी

पुष २६ काठमाडाैं -आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो दाबी गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बिहीबार संघीय संसद्को दिगो विकास तथा सुशासन समितिको बैठकमा पुनर्निर्माणको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्दै प्राधिकरणको बाँकी रहेको दुई वर्षको समयमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने दाबी गरेका हुन् ।

उनले प्राधिकरणको स्थापनार्थ तीन वर्षमा निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत, विद्यालय भवन पुनर्निर्माणमा ८० प्रतिशत, सरकारी भवन पुनर्निर्माणमा ९५ प्रतिशत गरी निर्माण सम्पन्न र निर्माणाधिनको कामको प्रगति विवरण सुनाए । त्यसैगरी ६८ प्रतिशत पुरातात्विक सम्पदा पुनर्निर्माणको काम, र सुरक्षा निकाय पुनर्निर्माणमा ५४ प्रतिशत काम भएको समितिलाई जानकारी गराए ।

यसका साथै अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ९९ प्रतिशत भूकम्प प्रभावितले पहिलो किस्ता लिइसकेका कारण उनीहरुसबैलाई बेलैमा घर पुनर्निर्माण सम्पन्न गर्न आग्रह गरेको पनि बताए ।