प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेरको आज संसदीय सुनुवाई

पुस १५, काठमाडौ—प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको आज संसदीय सुनुवाई हुँदैछ । संसदीय सुनुवाई समितिले दिउँसो २ बजे बस्ने बैठकमा राणालाई सुनुवाईका लागि बोलाइएको हो ।

आज राणाविरुद्ध परेका उजुरीका वारेमा र उनका लागि भावी कार्ययोजनाका विषय सुनुवाईका क्रममा छलफल हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ईमेलखवर डटकमलाई बताए ।

सुनुवाईपछि राणाको नाम अनुमोदन गर्ने नगर्ने भन्ने बारेमा निर्णय हुनेछ । समितिको यसअघि गत शुक्रबारको बैठकले उजुरीकर्तासँग छलफल गरेको थियो ।

प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध विभिन्न समयमा भएका फैसला र व्यक्तिगत विषय समेटेर ९ वटा उजुरी परेका छन् ।  प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी मंगलबार अनिवार्य अवकास लिने भएकाले त्यस अगावै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई सक्ने समितिले तयारी गरेको हो ।

संसदीय सुनुवाई समितिले नामअनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्तगर्ने संवैधानिक व्यवस्था छ ।