सरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमा

पुष १२, ललितपुर — पाटन संग्राहलयमा लाईट र द इसेन्स नामक दुइवटा एकल चित्रकलाको प्रदर्शनीको सुरु भएको छ । योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको लाईट र रिया बज्राचार्यको द इसेन्स नाम दिइएको एकल चित्रकलाको प्रदर्शनी सुरु गरिएको हो ।

ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले उद्घाटन गरेको चित्रकला प्रदर्शनीमा सरुनादेवी महर्जनका लाईट नाम गरेका १४ वटा चित्रहरु प्रदर्शनीमा छन् । महर्जनका चित्रहरु महिला संवेदनामा आधारित रहेका छन् ।

आफ्ना चित्रमा महिलाले गरेका दुःखबाट संसार चलेको चित्रण गर्ने प्रयास गरिएको चित्रकार महर्जनले बताइन ।
यसैगरि चित्रकार रिया बज्राचार्यको एकल प्रदर्शनीमा पनि १४ वटै चित्रहरु प्रदर्शनीमा राखिएका छन । रियाको चित्रहरुमा जीवनका उमंग र उत्साह भर्ने चित्रहरु कोर्ने गुण रहेको देख्न सकिन्छ ।

आफ्ना चित्रहरुबारे उनले भनिन्, “मैले कोरेका सबै चित्रहरु विभिन्न फुलसँग सम्बन्धित छन्, मैले जीवनमा देखेका आशा हुन्, त्यही आशालाई फुलका मार्फत देखाउने प्रयास गरेको छु ।”
प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै आयोजक संस्था योङ् पिकासोका निर्देशक अजय देशारले नयाँ पुस्ताका चित्रकार उत्पादन गरी चित्रका मार्फतबाट प्रतिभा प्रस्फुटन गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताए ।

पत्रकार महासंघकी केन्द्रीय सदस्य मिरा राजभण्डारीले महिलाको क्षमता विकासमा कलाकारितको महत्व रहेको बताइन् ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले कलाको विकासमा सधै सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ ।