रवि भित्रकोटी (कविता)
बा !
म छोरी अनि छोरा तिम्रो
म विश्वास अनि उपहार तिम्रो
म मुस्कान अनि खुसीको कारण तिम्रो
म बल अनि आत्मसम्मान तिम्रो
म गर्व अनि प्रेमको प्रतिक तिम्रो
म सपना अनि बिपना तिम्रो
थाहा छैन
तर ?
म तिम्रो लागि
छोरी वा छोरा बन्न सके कि नाइँ ?
विश्वास अनि उपहार बन्न सके कि नाइँ ?
मुस्कान अनि खुसीको कारण बन्न सके कि नाइँ ?
बल अनि आत्मसम्मान बन्न सके कि नाइँ ?
गर्व अनि प्रेमको प्रतिक बन्न सके कि नाइँ ?
बा !
सिकायौ हातमा हात समाउदै
ताते ताते गर्न
पिंढी बाट आँगन झर्न
क का कि की गर्न
माया र ममता
बा !
बुझायौ कलिलो उमेरमै
हामी को हौं ?
हामी के हौं ?
परिवार के हो ?
असल के हो ?
नैतिकता के हो ?
धन सम्पति के हो ?
समाज के हो ?
संघर्ष के हो ?
जीवन के हो ?
जगत के हो ?
बा !
आज म तिमीले देखाएको सपना र बाटोमा हिडिरहेको छु
ठुलो बन्ने भन्दा पनि असल बन्न लागिराखेको छु
सम्पन्नता भन्दा पनि खुसी बाड्न चाहिरहेको छु
ज्ञान र बुद्धि भन्दा पनि बिबेक फैलाउन खोजिरहेको छु
बा !
थाहा छैन म कहाँ सम्म पुग्न सक्छु
कहाँ सम्म फैलन सक्छु
तर जहाँ सम्म पुगेपनि फैलिए पनि
म तिम्रो म प्रतिको विश्वासमा ठेस लाग्न दिने छैन
मेरो बा
“शुभकामना छ
बा को मुख हेर्ने दिनको अनि
म तिमीलाई मेरो मुख देखाउन लायक भएकोमा ”