प्रकाण्डलाई थुनामुक्त गर्न तेस्रोपटक आदेश

 

काठमाडौं, १९ भदौ  – सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न तेस्रोपटक आदेश गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहबरमा छाड्न सोमबार आदेश दिएको हो ।

सर्वोच्चले विश्वकर्मालाई थुनामुक्त गर्न यसअघि पनि दुईपटक आदेश दिइसकेको छ । यसअघि दुवैपटक सर्वोच्चको आदेशमा रिहा भएलगत्तै उनलाई फेरि पक्राउ गरिएको थियो । सरकारको यस्तो कार्यलाई सर्वोच्चले ‘अदालतको आदेशलाई असम्मान’ भनी टिप्पणी गरेको छ । ‘सम्मान र कार्यान्वयन गर्नुपर्ने निकायबाट असम्मान गरेको भन्दै गम्भीर सरोकार रहेको छ’, सोमबारको आदेशमा उल्लेख छ ।