आज देशभरका आकस्मिक बाहेक स्वास्थ्य सेवा ठप्प



काठमाडौ,१७ भदौ —सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गराएका छन् ।
संघका महासचिव डा. लोचन कार्कीले सरकारले सहमतिबमोजिम संहिता संशोधन प्रक्रिया अघि नबढाएका कारण हड्तालमा उत्रनुपरेको बताए । संघले एकदिने सांकेतिक हडतालमा आज १२ बजे काठमाडौंको माइतीघर मण्डला तथा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एप्रोनसहित विरोध प्रदर्शनमा उत्रने निर्णय गरेको छ ।
महासचिव कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा भोलि देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिकबाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने उल्लेख छ ।