सायद… सरकारी सेवा सुलभ भइदिए ?

रवि भित्रकोटी
एक हप्ता अगाडिको कुरा हो । बिदेशमा पेश गर्नको लागि मेरो साथीको भाइको जन्मदर्ता प्रमाणपत्र प्रमाणिकरण गर्नुपर्ने भएकोले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग मा जानुपर्ने थियो ।

पहिला त्रिपुरेश्वर रहेको उक्त कार्यालय गत वैशाख १९ गते देखि नारायणहिटी स्थित हाल राहदानी विभाग रहेको परिसर सरेको कुरा कन्सुलर सेवा विभागको वेबसाइट मार्फत जानकारी पाइयो ।

विदेशमा पेश गर्ने प्रयोजनको लागि नेपाली नागरिकलाई सरकारी निकायबाट जारी गरिएका कागजातको कन्सुलर प्रमाणीकरणको कार्य समेत गर्ने गरि विदेशमा नेपाली नागरिकहरुको बढदो संख्याका साथ बढेको कार्य बोझ, नेपालमा वढेको विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संघ संस्थाको संख्या आदिका कारणले सेवा सुविधामा सहजता दिनका लागि नेपाल सरकारको मिति २०७०|१ | २० को निर्णय अनुसार कन्सुलर सेवा विभागको परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना भएको जानकारी पाइयो ।

प्रति कागजात रु ५००।– सेवा दस्तुर तिरेपछि सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी उक्त प्रमाणपत्रको प्रतिलिपि, सक्कल प्रमाण पत्रको साथमा सम्बन्धित व्यत्ति स्वयं वा नातेदार वा वारेश मार्फत सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि सहित आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने रहेछ ।

हामीले पहिला प्रमाणित गरेको रु २०० लाग्छ भन्ने सुनेका थियौ । बिहान साढे दश बजेतिर जाने योजना बनाएका थियौ । सार्बजनिक यातायात मार्फत जाँदा कि जमल स्टेसन देखि हिड्नु पर्थ्यो कि त लैनचौर बाट फर्कनु पर्थ्यो मेरो साथी केहि अस्वस्थ भएको हुनाले सार्बजनिक यातायात प्रयोग गर्दा उक्त समय हिड्न असहज र अफ्ठ्यारो हुने देखि उनले मलाई स्कुटीमा जाने प्रस्ताव गरिन । हुनत म पहिला पनि पासपोर्ट विभाग मा गएको हुनाले स्वीकार गरे र स्कुटीमा जाने भैयो अफिस समयको बेला भएको कारणले होला ट्राफिक को चाप केहि धेरै नै थियो बानेश्वर देखि नारायणहिटी को पश्चिम गेट पुग्न करिब पौने घण्टा लाग्यो ।

आज सम्म पनि दैनिक हजारौं सेवाग्राहीको आवतजावत हुने राहदानी विभागमा सेवाग्राहीको पार्किङ सुविधा राखिएको रहेनछ असहज महशुस गर्दै साथीलाई गेटको अगाडी ओरालेर मा भने स्कुटी पार्किङ गर्ने स्थानको खोजिमा लागे । ठमेलमा रहेको कर्मचारी संचयकोष भवनमा रहेको पार्किङ स्थलमा मात्र स्थान पाए । त्यसको केहि बेरमा साथीको फोन आयो फोटोकपी गर्नु पर्ने भएछ । स्कुटी लैजाउँ भने बल्ल बल्ल पाएको फेरी पार्किङ को समस्या हुने ठानेर हिडेरै पुनः पश्चिम गेटमा पुगे । फोटोकपी गर्ने स्थान खोज्दै गर्दा केशरमहल गेट अगाडी टहरामा फोटोकपी गर्ने सेवा उपलब्ध भएको जानकारी पाइयो र लगियो उतैतिर ।

ठेलमठेल भीड रहेछ उक्त टहरामा हामी जस्तै समस्या भएकाको । करीव आधा घण्टाको लाइनमा बसेपछि हाम्रो पालो आयो । दुई प्रति कपि बनाएको दश रुपैयाँ बुझाइयो विना कुनै बिल । उक्त पसलमा विल दिन पनि फुर्सद थिएन काम गर्ने कर्मचारीको लागि । दैनिक हजारौं जनालाई सेवा दिइरहेको र लाखौ आम्दानी गरेको उक्त पसलले लिएको सेवा दस्तुर भने सामान्य बजारमा भन्दा अलि महँगो नै लाग्यो फोटोकपीको प्रति पेज पाँच रुपैयाँ ।

आफूलाई काम सक्नु पर्ने भएकोले हतार हतार गर्दै  पुनः कन्सुलर विभागको सेवा दिने झ्यालमा रहेको लाइन बस्न पुगियो । पाँच सय सेवा दस्तुर सहित कागजात बुझाइयो । सक्कली जन्मदर्ता प्रमाणपत्रमा प्रमाणीकरण छाप लगाइएको प्रमाणपत्र करिब आधा घन्टाको पर्खाईमा पाइयो । सवा एघार बजे पहिलो पटक पुगेको नारायणहिटी पश्चिम गेटमा प्रमाणीकरण गरेको जन्मदर्ता प्रमाणपत्र बुझ्दा साढे दुई बजिसकेको रहेछ ।

जनतालाई सर्वसुलभ सेवा र सुविधा दिदै गर्दा कार्यालय स्थान छनौट पनि एक महत्व दिनुपर्ने बिषय हुनुपर्ने मेरो यो अनुभवले देखाएको छ । दैनिक म जस्तै हजारौ सर्वसाधारण नागरिक सेवाको लागि राहदानी विभाग र कन्सुलर सेवा विभाग आउने जाने गर्छन । करीव डेढसय प्रतिशत सेवा दस्तुर बढाएको भएपनि कन्सुलर विभाग वा संगै रहेको राहदानी विभागले म जस्ता सेवाग्राहीको सवारीसाधनको पार्किङ स्थलको व्यवस्था नभएको हुँदा यस बारेमा ध्यान दिनु आवश्यक छ । सक्कली प्रमाणपत्रमा नै छाप लगाउने, प्रतिलिपि सेवाग्राही आफैले महँगो रकम तिरेर गर्नुपर्ने काममा सरकारी सेवा दस्तुर पनि कामको तुलनामा महँगो लाग्यो । जसले गर्दा अति व्यस्त हुने जमल दरबारमार्ग केशरमहल ठमेल र लैनचौर खण्ड को ट्राफिक व्यवस्थापनमा समेत सहयोग हुने थियो ?