टेलिकमको प्रबन्ध निर्देशकबाट कामिनी राजभण्डारी बर्खास्त

काठमाडौ, ३० साउन —सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । १० असोज २०७३ मा तीन वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त उनलाई अवधि नपुग्दै सरकारले हटाएको हो । राजभण्डारीसँग सरकारले एक साता अघि ७ दिने स्पष्टीकरण सोधेको थियो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
सरकारले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का दिएको १ बर्ष सम्म काम नै सुरु गर्न नसकेको देखि काठमाडौं र पोखरामा फोरजीको ठेक्का टेण्डर नगरी अपारदर्शी रुपमा दिएर ठुलो रकम घोटाला गरेको उनी माथि आरोप लगाएको थियो ।
टेलिकममा प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत उनी सो संस्थाकी पहिलो महिला प्रबन्ध निर्देशक थिइन् ।