प्राकृतिक विपद्का कारण चार महिनामा ५२९ को मुत्यु, दुई अर्ब रुपैयाँ बराबरको धनमालको क्षति

 

काठमाडौ, २९ साउन —पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ । गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन् । २ हजार २ सय ८७ सर्वसाधरण घाइते भए । ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए । १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन् ।