इन्काउन्टर फेक होइन: गृहमन्त्री

भरतपुर : गृहमन्त्री रामबहादुर थापाले निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि गरिएको इन्काउन्टर फेक (झूठो) नभएको दावी गरेका छन्। मन्त्री थापाले प्रहरीसँगको मुठभेडमा अपहरणकारी मारिएको दावी गरेका हुन्।

बिहीवार व्यवस्थापिका संसदअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने प्रतिबद्धता गरेका गृहमन्त्री थापाले शुक्रबार चितवनमा इन्काउन्टर फेक नभएको बताएका हुन्।

भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले निशानको अपहरणपछि हत्याको आरोप लागेका गोपाल तामाङ र अजय तामाङ इन्काउन्टरमै मारिएको बताएका हुन्। अपराध न्यूनीकरणका लागि सरकार सफल भएको उनको दावी छ।