अधिकृतद्वारा अढाइ वर्षमै ७ करोड भ्रष्टाचार

 

काठमाडौ,२२ साउन—अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।
अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् ।
इलामको माई नगरपालिकाबाट कटारीमा सरुवा भएको डेढ महिनामै ढकालले चार करोड रूपैयाँ निजी खातामा राखेको खुलेको छ ।

सोलु सल्लेरीको जनस्वास्थ्य कार्यालयमा सुरु नियुक्ति पाएका ढकाल त्यहाँ ११ महिना काम गरेपछि इलामको माई नगरपालिकामा सरुवा भएका थिए । गत फागुनमा उनी कटारी सरुवा भएका हुन् ।