पहिरो अपडेट : एकको जीवितै उद्धार,पाँच जनाको मृत्यु , चार अझै बेपत्ता

२० साउन जाजरकोट -जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोले पुरेका ५ जनाको शव निकालिएको छ। चार जना अझ बेपत्ता छन्। एक जनाको जीवितै उद्धार गरिएको छ।

भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ। मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन्। उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो।

उनीहरु सबै भेरी–३ खलंगा ठाँटी स्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ।

जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ। छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ।

यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा त्यहाँ चार जना बालबालिका अझै हराइरहेका छन्। ती बालबालिकालाई घर सँगै पहिरोले पुरेको अनुमान गरिएको छ।

प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार  त्यसैगरी नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार रहेका छन्।

हाल प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन्। पुरिएको घर पन्छाएर पुरिएकाहरुको खोजी कार्य भइरहेको छ। पानी परिरहेको  अप्ठेरो ठाउँ भएको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको उद्धार खटिएका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्दजित सुनारले बताए।

बिहान ८ बजे घटना भए लगतै प्रहरी घटनास्थलमा खटिएको थियो। पहिरोले गोपाल सुनारको घरका पूर्णरुपमा पुरेकाले उद्धारमा समस्या भएको उनले बताए।