पारस र सोमपालको अर्धशतक, २१७ रनको लक्ष्य प्रस्तुत

१८ साउन, काठमाडौं – नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालले २ सय १७ रनको लक्ष्य दिएको छ । नेपालले ४८ ओभर ५ बलमा २ सय १६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।

आठौं क्रममा ब्याटिङमा आएका सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए ।

शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन ।

पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो । ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो ।

२९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे ।

३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औँ ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।

एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहित कुमार पौडेलले पनि आˆनो प्रभाव पार्न सकेनन् । १५ बल खेलेका उनी ६ रन बनाएर आउट भए ।
आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए ।