सांसद निरु पाल धम्की प्रकरण : प्रहरीले सुरु गर्यो अनुसन्धान

१८  साउन, काठमाडौं- सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ

अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ७५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हाे ।

घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौंमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ ।

यस कार्यमा वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका छन् ।

घटनाको अनुसन्धानका लागि काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बिहीबार आफैं महानगरीय प्रहरी वृत्त, वानेश्वर पुगेका छन् ।

साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना सार्वजनिक भएको थियो ।

सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।