सरकारविरुद्ध आन्दोलन कांग्रेसको हतास मानसिकताः कमल थापा

१७ साउन,  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वर्तमान सरकार गठन भएको ६ महिना नवित्दै सडक आन्दोलनमा उत्रिनु कांग्रेसको हतास मानसिकता भएको टिप्पणी गरेका छन् ।

कांग्रेसले जारी राखेको सडक र सदन दुवै आन्दोलनबाट मुलुकले निकास पाउन नसक्ने दावीसमेत उनले गरे ।

 

विराटनगरमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष थापाले वर्तमान सरकार अहिले परीक्षणकालमा रहेकाले  जिम्मेेवार पार्टीले यति चाँडै सदन र सडक अवरुद्ध पार्न नहुने बताए ।

‘कांग्रेस सदन र सडक अवरुद्ध गरी सरकार विरुद्ध उभिएको छ, अध्यक्ष थापाले भने, ‘यसको यो पराजयको हतास मानसिकता हो, कांग्रेस कम्युनिष्ट बन्न खोज्नु हुन्न, यदि कांग्रेसले कम्युनिष्ट बन्ने सपना बोकेको छ भने त्यो उसको दिवासपना मात्र हुनेछ ।’

उनले कांग्रेसले डा गोविन्द केसी त कहिले प्रस्तावित प्रधानन्यायाधीशको विषयलाई उछालेर आन्दोलन गरिरहेको बताए ।

अध्यक्ष थापाले वहुमतको बर्तमान सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारको काम कार्वाहीको आलोचन समेत गरे ।