छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने

काठमाडौ, १४ असार —  सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिएन । स्वास्थ्य मन्त्रालयले दुर्गममा आवश्यकताअनुसार चिकित्सक खटाउन ‘छात्रवृत्ति व्यवस्थापन तथा परिचालनकार्यविधि २०७५’ बनाएर सेवा अवधि तोकेको हो ।