अगामी शैक्षिक सत्रदेखि मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

काठमाडौ, १२ जेठ— चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ । अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टाछुट्टै प्रवेश परीक्षा लिने गरेका छन्। शैक्षिक संस्थाहरूले एउटै शैक्षिक सत्रमा फरक समयमा परीक्षा लिँदा विद्यार्थीले मेडिकल स्नातक तह अध्धयनका लागि चारपटकसम्म अवसर पाउने गरेका छन्।
अगामी शैक्षिक सत्रदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयले एकीकृत प्रवेश परीक्षाको व्यवस्था गर्ने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकालले जनाए। उनका अनुसार मन्त्री पोखरलेले चारवटै शैक्षिक निकायका उपुकलपति र डिनसँग छलफल गरी एकीकृत प्रवेश परीक्षा व्यवस्था लागू गर्ने टुंगोमा पुगेका हुन्।