राष्ट्रपति ओर्टेगाले निजी क्षेत्रलाई हिंसा रोक्न अपिल

 

वैशाख १०, काठमाडौ– निकारागुवाका राष्ट्रपति डानियल ओर्टेगाले देशभर हिंसात्मक प्रदर्शनहरू निम्त्याएको सामाजिक सुरक्षा सुधार सम्बन्धी कदमहरू फिर्ता लिनुभएको छ ।
राष्ट्रपति ओर्टेगाले निजी क्षेत्रलाई वार्तामा संलग्न हुन पुनः आग्रह गर्दै हिंसा रोक्न अपिल गर्नुभएको हो ।
तर निजी क्षेत्रका नेताहरूले सरकारले विपक्षीहरूमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् ।
बुधवार निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा भएपछि लाभग्राही र विद्यार्थीहरूले गरेको हिंसात्मक प्रदर्शनमा २५ जना मृत्यु भएको छ ।
राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति आर्टोगाले कैयौँ मानिसको ज्यान समेत लिने गरी निम्त्याएको सामाजिक सुरक्षा प्रणालीतर्फका सुधारका कदमहरू फिर्ता लिएको घोषणा गर्नुभएको हो ।
यसैबीच निकारागुवामा भइरहेको सरकार विरोधी प्रदर्शनको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका एक पत्रकारको गोली लागेर मृत्यु भएको छ ।
एन्जल गाहोना नामक ती पत्रकारले क्यारेबियन टापु सहर ब्लूफिल्ड्समा प्रदर्शनका कारण एउटा बैंकमा भएको क्षतिका बारे शुक्रबार फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरिरहेकै बेला उनलाई गोली लागेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।