बार्सिलोनालाई ३–० ले हराउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा

चैत्र २८,काठमाडौं – पूर्व च्याम्पियन बार्सिलोनालाई स्तब्ध बनाउँदै इटालियन क्लब रोमा युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा ४–१ को जित निकालेर बलियो स्थितीमा रहेको बार्सिलोना दोस्रो लेगमा रोमाको मैदानमा ३–० ले पराजित भयो । जसका कारण रोमा अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

घरेलु मैदानमा भएको च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको रोमाले खेलको छैटौं मिनेटमा नै इडेन जेकोको गोलमार्फत अग्रता बनायो ।

त्यसपछि ५८ औं मिनेटमा डेनिली डी रोसीले पेनाल्टीमार्फत रोमाका लागि दोस्रो गोल गरे । खेल सकिन आठ मिनेट बाँकी हुँदा डिफेन्डर कोस्टास मानोलासले हेडमार्फत उत्कृष्ट गोल गरे ।

त्यसपछि बार्सिलोनाले गोल गर्न नसक्दा रोमाले अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनायो । पहिलो लेगमा भारी गोलले पछि परेर पनि उत्कृष्ट कमब्याक गर्ने रोमा तेस्रो टिम बनेको छ ।

यसअघि २००४ मा एसी मिलानविरुद्ध डिपोर्टिभो ला कोरुनाले एसी मिलानविरुद्ध दोस्रो लेगमा नतिजा पल्टाएको थियो । यस्तै गएको वर्षको च्याम्पियन्स लिगमा बार्सिलोनाले पनि पीएसजीविरुद्ध उत्कृष्ट कमब्याक गरेको थियो । यसपटक त्यसको सिकार बार्सिलोना आफै हुन पुग्यो ।